जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

ADVERTISEMENT

मुख्यमन्त्री यादवका अनुसार कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने तयारी छ। त्यसका लागि प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्न लागिएको उनले बताए।

ADVERTISEMENT

विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद भइरहेको र मतदानको समयसम्म पनि छलफल जारी राख्ने मुख्यमन्त्री यादवले जानकारी दिए।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसैगरी, सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए।

दुवै दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकारको बहुमत कायम राख्न अन्य दलसँग संवाद अघि बढाएका छन्।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।

प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्। त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्।