जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि उनले शनिबार प्रदेशसभा बैठकमै राजीनामाको घोषणा गरेका हुन् ।
विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै यादवले पदभन्दा जनताको सेवा र विश्वास ठूलो भएको बताए । सोही कारण आफूले पदबाट राजीनामा दिएको उनको भनाइ थियो ।
सत्ता साझेदार नेकपा (एमाले) ले गत असोज ३० गते चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । त्यसपछि कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीले पनि सरकारबाट समर्थन फिर्ता लिएको थियो ।
समर्थन फिर्ता लिने दलको निर्णयपछि मुख्यमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था बनेको थियो । तर, आवश्यक बहुमत जुट्ने सम्भावना नदेखिएपछि उनले विश्वासको मत परीक्षणअघि नै राजीनामा दिएका हुन् ।
हाल कायम १०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो । प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, एमालेका २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
यसअघि कात्तिक २० गते जसपा नेपाल, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने प्रयास भएको थियो । जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्ने तयारीअनुसार नेकपाले पनि यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
तर, जसपा नेपालभित्रै मुख्यमन्त्रीको उम्मेदवारलाई लिएर मतभेद देखिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । एमाले र नेकपा भने जसपा नेपालको नेतृत्वमा सरकार बनाउन सकारात्मक देखिएका छन् ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भने अब बन्ने सरकारमा आफ्नो दल सहभागी नहुने घोषणा गरिसकेका छन् । यसले मधेश प्रदेशमा नयाँ सत्ता समीकरणबारे अन्योल थपिएको छ ।
मुख्यमन्त्री यादवको राजीनामापछि अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नेछन् ।












