काठमाडौँ, । परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपाल पेभिलियन उद्घाटन गरेका छन्।नेपालको जलवायु महत्वाकाङ्क्षा, जैविक विविधता संरक्षणमा हासिल उपलब्धि तथा समुदायस्तरमा सञ्चालन भइरहेका जलवायु अनुकूलनका प्रयास अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले पेभिलियन स्थापना गरिएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीले सामना गरिरहेका जलवायुजन्य जोखिम र चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।उनले हिमाली क्षेत्रमा हिउँ, हिमनदी तथा जमेको पानीको प्रणाली (क्रायोस्फियर) मा देखिँदै गएका परिवर्तनले गम्भीर जोखिम निम्त्याइरहेको भन्दै चिन्ता व्यक्त गरे।
जलवायु परिवर्तनका कारण हालै भएको विनाशकारी भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उनले नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकले असमानुपातिक रूपमा ठूलो जोखिम र क्षति बेहोर्नुपरिरहेको उल्लेख गरे।
मन्त्री खनालले जलवायु न्याय सुनिश्चित गर्न, हानि तथा क्षति कोषमा प्रभावित मुलुकहरूको सहज पहुँच स्थापित गर्न र हिमाली क्षेत्रको उत्थानशीलता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय साझेदारी तथा सहकार्य आवश्यक रहेकोमा जोड दिए।हिमाली क्षेत्रको संरक्षणसँगै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षा सुनिश्चित गर्न पनि विश्वव्यापी सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री नीशा मेहता, सङ्घीय संसद् प्रतिनिधिसभाका सदस्य सागर ढकाललगायत विभिन्न क्षेत्रका विशिष्ट प्रतिनिधिहरूले सम्बोधन गरेका थिए।












