काठमाडौं, कात्तिक २२ । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषध, जुवातास र भरुवा बन्दुकसहित विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ । यसैबीच, विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
प्रहरीले सुनसरी, मकवानपुर, झापा, उदयपुर र कञ्चनपुरलगायत जिल्लाबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको जनाएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ बाट करिब ३१ किलो १०० ग्राम गाँजासहित २२ वर्षीय नित्यानन्द यादव पक्राउ परेका छन् । त्यस्तै, इटहरी उपमहानगरपालिका–५ बाट ३ ग्राम ६२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित ३९ वर्षीय युवराज भुजेलसहित दुई जना पक्राउ परेका छन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ बाट ३१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २६ वर्षीय सानु भाइ नेपाली पक्राउ परेका छन् ।
झापाको झापा गाउँपालिका–७ बाट करिब एक किलो गाँजासहित ५५ वर्षीय सूर्यलाल यादव पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिका–१ बाट १ ग्राम ७ मिलिग्राम खैरो पदार्थसहित २४ वर्षीय प्रवीण विश्वकर्मासहित तीन जना पक्राउ परेका छन् ।
त्यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–४ बाट ४ ग्राम ८५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित कैलालीका दुई जना पक्राउ परेका छन् ।
जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ
प्रहरीले काठमाडौं, बाँके, भक्तपुर र चितवनबाट जुवातास खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टबाट ९ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट नगद ६ लाख ८५ हजार १९५ रुपैयाँ र नौ बुक तास बरामद गरिएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाइपासबाट सात जना पक्राउ परेका छन् । उनीहरूको साथबाट नगद १ लाख ७७ हजार ६०० रुपैयाँ र १० बुक तास बरामद भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट ६ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट नगद ७२ हजार ७५० रुपैयाँ र एक बुक तास बरामद गरिएको छ ।
त्यस्तै, चितवनको खैरहनी नगरपालिका–१० जीवनपुर चोकबाट जुवातास खेलिरहेका अवस्थामा ६ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट नगद ७२ हजार ३०० रुपैयाँ र एक बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
भरुवा बन्दुकसहित एक जना पक्राउ
बझाङको मष्टा गाउँपालिका–२ धनातोलीका ४० वर्षीय राजेन्द्र रोकायालाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारेको जनाएको छ ।
विभिन्न स्थानबाट चार थान भरुवा बन्दुक बरामद
प्रहरीले रोल्पा, रुकुम पश्चिम र बैतडीका विभिन्न स्थानबाट चार थान भरुवा बन्दुक बरामद गरेको छ ।
रोल्पाको सुनछहरी गाउँपालिका–१ फुलिबन चिवाङ सामुदायिक वनबाट दुई थान, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ रातोपहरा सामुदायिक वनबाट दुई थान र बैतडीको दशरथचन्द नगरपालिका–४ भिटाभिरस्थित ओढारबाट एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनामा चार जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
बर्दियाको राजापुर नगरपालिका–८ भोगपुरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा गुलरिया नगरपालिका–३ लोहापुरका ४० वर्षीय हरिराम थारूको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा बर्दिया जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बाराको कोल्हवी नगरपालिका–२ न्योपाने टोलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय अमित मोक्तानको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य दुई जनाको एलएस न्युरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्पस्थित सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय इस्पस अर्याल र इटहरी उपमहानगरपालिका–२ तीनपैनीका २८ वर्षीय सास्वत पोखरेल रहेका छन् । उनीहरूको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












