काठमाडौं । बर्दियामा प्रहरीले करिब ४४ लाख ४४ हजार रुपैयाँ बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको संयुक्त टोलीले मधुबन नगरपालिका–८ सानोश्री बजार क्षेत्रमा विशेष निगरानीका क्रममा उक्त सामान बरामद गरेको हो।
प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेको १०८ बोरा काँचो केरा (३ हजार ७९० दर्जन) सहित तीनवटा सवारी साधन नियन्त्रणमा लिएको छ। बरामद गरिएका सवारी साधनमा भे १ च ३५८० नम्बरको अशोक लेल्याण्ड पिकअप भ्यान, भे १ च ९१५९ नम्बरको बोलेरो पिकअप भ्यान र भे १२ प ९९२१ नम्बरको पल्सर मोटरसाइकल रहेका छन्।
प्रहरीका अनुसार केरा र ढुवानीमा प्रयोग भएका सवारी साधनको अनुमानित मूल्य २५ लाख ५९ हजार रुपैयाँ रहेको छ। घटनामा संलग्न रहेको आरोपमा भारतको बहराइच जिल्ला आमाबर्दिया (फकलपुर) निवासी २० वर्षीय कलिम खान र २२ वर्षीय रिजवान अन्सारीलाई नियन्त्रणमा लिइएको छ।
यसै क्रममा मधुबन नगरपालिका–८ मा रहेको एक दुईतले पक्की गोदाम र नजिकैको अर्को घरको सटर कोठामा खानतलासी गर्दा भारतबाट भन्सार छली गरी लुकाइछिपाइ राखिएका विभिन्न किराना सामानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। ती सामानको अनुमानित मूल्य १८ लाख ८५ हजार २६० रुपैयाँ रहेको छ।
बरामद गरिएका काँचो केरा, ढुवानीमा प्रयोग भएका सवारी साधन तथा विभिन्न किराना सामान गरी कुल ४४ लाख ४४ हजार २६० रुपैयाँ बराबरका अवैध सामान आवश्यक कानुनी कारबाहीका लागि राजापुर भन्सार कार्यालय, गुलरिया पठाइएको प्रहरीले जनाएको छ।





