काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिन आइतबार साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ। प्राधिकरणका अनुसार उक्त माग धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुनेछ।

प्राधिकरणले लक्ष्मीपूजाको समयमा विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले तिहार, नेपाल संवत् र छठलगायतका पर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

यसैबीच, उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं देशमा लोडसेडिङ अन्त्य गर्न नेतृत्व गरेका कुलमान घिसिङले विगतको लोडसेडिङको अवस्थालाई स्मरण गर्दै अब देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प व्यक्त गरेका छन्।

तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना सन्देश जारी गर्दै घिसिङले २०७३ सालअघिका अँध्यारा दिन सम्झिएका छन्। त्यसबेला उज्यालोको पर्व तिहारसमेत अन्धकारमा मनाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले अहिले देशले सामना गरिरहेका समस्या अन्त्य गर्नुपर्ने बताएका छन्।