काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतमा कार्यरत प्रहरी अधिकृतलाई निर्देशन दिँदै उनले चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि रोक्न थप सक्रिय हुन आग्रह गरेका हुन्।
उनले तिहार, नेपाल संवत् र छठलगायत पर्वका समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा प्रहरी अधिकारीलाई सचेत गराएका थिए।
महानिरीक्षक केसीले चाडपर्वका बेला हुन सक्ने लुटपाट, चोरीलगायत आपराधिक घटनालाई समयमै नियन्त्रण गर्न प्रभावकारी प्रहरी परिचालन आवश्यक रहेको बताए। आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षा योजना कार्यान्वयन गर्न सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्दै व्यावसायिक, उत्तरदायी तथा जवाफदेही प्रहरी सेवा प्रवाह गर्न उनले निर्देशन दिए।
त्यस्तै, सम्भावित सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनलाई नागरिकमैत्री बनाउन र नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह गर्न उनले जोड दिए।
चाडपर्वका समयमा पटका तथा अन्य विस्फोटक पदार्थको कारोबार नियन्त्रण गर्न र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिप्रति विशेष सतर्कता अपनाउन पनि उनले निर्देशन दिएका छन्।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले उपत्यकाको शान्ति सुरक्षा, चुनौती तथा अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी दिएका थिए।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियालगायत वरिष्ठ प्रहरी अधिकृत तथा मातहतका प्रहरी अधिकारीहरूको उपस्थिति थियो।












