काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको अवसरमा आज साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ। उक्त माग आन्तरिक उत्पादनबाटै सहज रूपमा व्यवस्थापन गर्न सकिने प्राधिकरणले जनाएको छ।

लक्ष्मीपूजाका दिन वर्षभरिमै सबैभन्दा बढी विद्युत् माग हुने भएकाले प्राधिकरणले भरपर्दो र निरन्तर आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको हो।

ADVERTISEMENT

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार आज साँझ विद्युत् प्रणालीमा करिब २ हजार ५०० मेगावाट उत्पादन हुने प्रक्षेपण गरिएको छ। मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा समस्या नहुने र आन्तरिक उत्पादनले नै माग धान्ने उनले बताएका छन्।

ADVERTISEMENT

आपूर्ति व्यवस्थापनका लागि चौबीसै घण्टा टोली परिचालन

विद्युत्को माग र आपूर्तिबीच सन्तुलन कायम राख्न प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीको निगरानी बढाएको छ। सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न प्राविधिक टोलीलाई चौबीसै घण्टा परिचालन गरिएको छ।

कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेर सम्भावित चुनौती र व्यवस्थापनका उपायबारे छलफल गरिएको प्राधिकरणले जनाएको छ। प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग र प्रादेशिक कार्यालयका प्रमुखहरूसँग पनि भर्चुअल बैठक गरी जनशक्ति परिचालन तथा प्रणालीको निगरानीमा समन्वय गरिएको छ।

आज साँझ ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र कार्यकारी निर्देशक श्रेष्ठ स्वयं केन्द्रीय कमान्ड सेन्टरमा बसेर विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिने तयारी छ।

प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारलाई तीव्रता दिइएको छ। आपूर्ति अवरुद्ध भएमा तत्काल गुनासो सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त फोन नियमित रूपमा उठाउने र प्रभावकारी सेवा दिन कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ।

विद्युत् सुरक्षित रूपमा प्रयोग गर्न आग्रह

प्राधिकरणले तिहारका बेला विद्युतीय उपकरण र तारको अवस्था जाँच गरेर मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत गर्ने जोखिम नलिन पनि प्राधिकरणले सचेत गराएको छ।

विद्युत्सम्बन्धी समस्या आएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।