काठमाडौं । दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन्। कर्णाली याक्सबाट खेल्न उनी बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विमानस्थलमा उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए। ३७ वर्षीय बायाँहाते मध्यक्रमका ब्याटर मिलरले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसँगै विश्वका चर्चित फ्रेन्चाइज क्रिकेट लिगमा आफ्नो प्रभाव जमाएका छन्।

ADVERTISEMENT

उनले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग र पाकिस्तान प्रिमियर लिगलगायतका प्रतियोगिता खेलिसकेका छन्। आईपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स इलेभेन पन्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएल उपाधि जित्दा मिलर टोलीका प्रमुख खेलाडी थिए।

ADVERTISEMENT

कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले एनपीएलको आकर्षण बढाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने बताएका छन्।

मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै २ हजार ८०४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्। उनको टी–२० अन्तर्राष्ट्रिय करियरका दुवै शतक भारत र बंगलादेशविरुद्ध आएका थिए।

समग्र टी–२० करियरमा भने उनले ५८४ खेलबाट १२ हजार ४३५ रन बनाएका छन्। यस क्रममा चार शतक र ५३ अर्धशतक प्रहार गरेका छन्। सन् २०१७ मा बंगलादेशविरुद्ध उनले ३५ बलमै शतक बनाउँदै टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमान कायम गरेका थिए।

त्यस्तै, आईपीएलमा पन्जाबबाट रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दा उनले ३८ बलमै शतक प्रहार गरेका थिए।

कात्तिक ९ देखि काठमाडौंमा जारी एनपीएलमा कर्णाली याक्सले अहिलेसम्म तीन खेल खेलेको छ। तीमध्ये दुई खेल जितेको कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र दोस्रो खेलमा विराटनगर किङ्सलाई चार विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने काठमाडौं गोर्खाजसँग चार विकेटले हारेको थियो।

कर्णालीले अब शुक्रबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलमा मिलरले कर्णालीका लागि मैदान उत्रिने अपेक्षा गरिएको छ।