सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–८ पोखरीका ४० वर्षीय भबिराम थापा रहेका छन्।
प्रहरीका अनुसार मंगलबार साँझ जुनीचाँदे गाउँपालिका–८ पंकस्थित बाटोमा ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा भबिराममाथि कोदालो प्रहार गरेका थिए।
गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए।
घटनाको सूचना पाएपछि प्रहरी सहायक निरीक्षक तिलक चन्दको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा प्रयोग भएको कोदालो नजिकैको बारीमा फेला पारेको जनाएको छ।
घटनापछि बले थापा फरार भएका छन्। उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।










