काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपाल र नागरिक उड्डयनलगायतका ऐन संशोधन गर्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन्।

ADVERTISEMENT

उनका अनुसार बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

ADVERTISEMENT

यसैगरी, लामो समयदेखि विवादमा रहेको मोही जग्गाको समस्या समाधानका लागि सरकारले समयसीमा थप गर्ने निर्णय गरेको छ। मोही लागेको जग्गाका जग्गाधनी र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिन पाउने अवधि २०८५ साल कात्तिकसम्म थप गरिएको छ।

त्यस्तै, त्यस्ता जग्गासम्बन्धी कारबाही टुंग्याइसक्नुपर्ने अवधि २०८६ साल असारसम्म थप गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए। यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न पनि सरकारले स्वीकृति दिएको छ।

कृषि क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले नानो फर्टिलाइजर, बायो स्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गरेको छ। यसका लागि मल नियन्त्रण आदेशसमेत स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद् बैठकले थप प्रत्यक्ष वैदेशिक लगानी गर्न सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, टर्कीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ।

परराष्ट्रमन्त्रीको नेतृत्वमा ६ देखि ८ जनासम्मको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुने मन्त्री पोखरेलले जानकारी दिएका छन्।