काठमाडौं । नेपाल प्रहरीभित्र प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षक (एसपी) सम्मका अधिकारीको सरुवा प्रक्रिया अलपत्र परेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गत भदौदेखि अघि बढाएको सरुवा प्रस्ताव अहिलेसम्म टुंगिन नसक्दा प्रहरी संगठनभित्र असन्तुष्टि बढ्न थालेको छ।
प्रहरीका अनुसार इन्स्पेक्टरदेखि एसपीसम्मका कतिपय अधिकारी एउटै कार्यक्षेत्रमा बसेको १२ देखि १५ महिना पुगिसकेको छ। प्रहरीमा सामान्यतः एक वर्षमा सरुवा गर्ने अभ्यास रहे पनि लामो समयदेखि सरुवा हुन नसक्दा अधिकारीहरू अन्योलमा छन्। लामो समय एउटै कार्यक्षेत्रमा रहँदा कामप्रतिको सक्रियता र कार्यसम्पादनमा समेत असर पर्न सक्छ ।
प्रहरी स्रोतका अनुसार झापा, मोरङ, उदयपुर, रुपन्देही, कास्की, पाल्पा, दाङ, कैलाली, कञ्चनपुर, सिराहा र रौतहटलगायत जिल्लामा नेतृत्व गरिरहेका एसपीको कार्यअवधि एक वर्ष नाघिसकेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभा, पर्वत र खोटाङ तथा इलाका प्रहरी कार्यालय बुटवल, प्रहरी वृत्त दरबारमार्ग र सोह्रखुट्टेका लागि समेत प्रहरी प्रधान कार्यालयले सरुवा प्रस्ताव अघि बढाइसकेको छ। तर, गृहमन्त्री सुधन गुरुङदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको प्रस्तावले अन्तिम स्वीकृति पाउन सकेको छैन।
प्रहरी निरीक्षकहरू पनि लामो समयदेखि एउटै कार्यालयमा सरुवाको प्रतीक्षामा छन्। सरुवा प्रक्रियामा ढिलाइ हुँदा नेतृत्व परिवर्तन हुनुपर्ने कार्यालयमा समेत लामो समयसम्म उही अधिकारी कायम रहने अवस्था बनेको छ। यसले नयाँ जिम्मेवारीमा जाने अधिकारीको कार्ययोजना र प्रहरी परिचालनमा समेत असर पार्न सक्ने प्रहरी अधिकारीहरूको भनाइ छ।
यसैबीच, प्रहरी संगठनमा दरबन्दी रिक्तताको समस्या पनि देखिएको छ। एक प्रहरी अधिकारीका अनुसार करिब ३५ प्रहरी निरीक्षक र २५ डीएसपीको दरबन्दी खाली छ। केही प्रहरी नायब महानिरीक्षक (डीआईजी) को समेत सरुवा गर्ने समय भइसकेको उनको भनाइ छ।
बढुवाको समय भने अझै नभएको बताइए पनि सरुवा प्रक्रिया नै लामो समयदेखि रोकिँदा संगठनको नियमित व्यवस्थापन प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले अघि बढाएको प्रस्ताव कहिले टुंगिन्छ भन्ने स्पष्ट नहुँदा सरुवाको प्रतीक्षामा रहेका अधिकारीहरू अन्योलमा छन्।









