काठमाडौं । नेपालमा स्क्रब टाइफस संक्रमण तीव्र रूपमा फैलिएको छ। यस वर्ष अहिलेसम्म देशभर १२ हजार २०७ जना संक्रमित भएका छन् भने आठ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार देशका ७५ जिल्लामा स्क्रब टाइफसका संक्रमित भेटिएका छन्। तथ्यांकले यो संक्रमण देशका अधिकांश जिल्लामा फैलिएको देखाएको छ।
प्रदेशगत विवरणअनुसार स्क्रब टाइफसको संक्रमण सबैभन्दा बढी लुम्बिनी प्रदेशमा देखिएको छ। लुम्बिनीमा यस वर्ष हालसम्म ३ हजार ४७२ जना संक्रमित भएका छन्। यो कुल संक्रमितको करिब २८.४ प्रतिशत हो।
त्यस्तै, गण्डकी प्रदेशमा २ हजार ३१५ जना अर्थात् १९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा २ हजार २६९ जना अर्थात् १८.६ प्रतिशत संक्रमित भएका छन्। जिल्लागत रूपमा दाङमा सबैभन्दा धेरै ७०३ जना संक्रमित भएका छन्। त्यसपछि स्याङ्जामा ६४८ र सल्यानमा ५७५ जनामा संक्रमण पुष्टि भएको छ।
स्क्रब टाइफस संक्रमित माइटको लार्भा (चिगर) ले टोकेपछि लाग्ने रोग हो। ओरिएन्टिया सुसुगामुसी नामक ब्याक्टेरियाका कारण यो संक्रमण हुन्छ। यस्ता संक्रमित माइट प्रायः खेतबारी, झाडी, घाँस तथा वनजंगल भएका स्थानमा पाइन्छन्।
विशेषगरी खेतबारीमा काम गर्ने किसान, घाँस काट्ने तथा झाडी र वनजंगलमा जाने व्यक्तिहरू संक्रमणको जोखिममा हुन्छन्। यो रोग मानिसबाट मानिसमा भने सर्दैन।
स्क्रब टाइफस संक्रमण भएपछि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने र अत्यधिक थकान महसुस हुनेजस्ता लक्षण देखिन सक्छन्। माइटले टोकेको ठाउँमा कालो दाग वा घाउ बन्न सक्छ। कतिपय बिरामीमा शरीरमा रातो बिमिरा पनि देखिन्छ।
संक्रमणपछि घाँटी वरिपरिका लिम्फ ग्रन्थि सुन्निन सक्छन्। बिमिरा शरीरका अन्य भागमा समेत फैलिन सक्छ। तर सबै संक्रमितमा एउटै प्रकारका लक्षण देखिन्छन् भन्ने हुँदैन।
समयमै पहिचान र उपचार नभए संक्रमणले फोक्सो, मिर्गौला तथा मस्तिष्कजस्ता महत्वपूर्ण अंगमा असर गर्न सक्छ। गम्भीर अवस्थामा श्वासप्रश्वासमा समस्या, मिर्गौलाले काम गर्न छाड्ने तथा अन्य जटिलता देखिन सक्छन्। यसले ज्यानसमेत जोखिममा पार्न सक्छ।
स्क्रब टाइफसको शंका लागेमा स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनुपर्छ। चिकित्सकको सल्लाहमा रगत परीक्षणमार्फत संक्रमण पहिचान गर्न सकिन्छ। समयमै पहिचान भए एन्टिबायोटिक औषधिबाट यसको उपचार सम्भव हुन्छ।
स्क्रब टाइफसबाट बच्न खेतबारी, झाडी, घाँसे मैदान तथा वनजंगलमा जाँदा शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ। सम्भव भएसम्म जुत्ता र मोजा प्रयोग गर्नुपर्छ। घाँस वा झाडीमा सिधै बस्ने र खुला ठाउँमा सुत्ने बानीबाट बच्नुपर्छ।
खेतबारी वा वनजंगलबाट फर्किएपछि शरीरमा माइटले टोकेको कुनै चिनो छ कि छैन भनेर जाँच गर्नुपर्छ। अचानक ज्वरो आउने, शरीर दुख्ने वा टोकेको ठाउँमा कालो दाग देखिने भए बेवास्ता नगरी स्वास्थ्य संस्थामा जानुपर्छ।
समयमै परीक्षण र उपचार गरे स्क्रब टाइफसबाट हुने गम्भीर जोखिम कम गर्न सकिन्छ। त्यसैले विशेषगरी खेतीपाती, घाँसदाउरा र वनजंगलमा काम गर्ने व्यक्तिले सावधानी अपनाउनु आवश्यक छ।









