काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले आज शपथ ग्रहण गर्ने भएका छन्। पार्टीका अनुसार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम आयोजना हुनेछ।
केन्द्रीय निर्वाचन समितिका अनुसार कार्यक्रममा पार्टी सभापतिबाहेक अन्य सबै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिनेछन्। नवनिर्वाचित सभापति गगनकुमार थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै शपथ ग्रहण गरिसकेकाले अन्य पदाधिकारी तथा सदस्यले आज शपथ लिन लागेका हुन्।
निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले यसपटकको शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा आयोजना गरिने जानकारी दिनुभएको छ। उहाँका अनुसार नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आजै पदबहालीसमेत गराइनेछ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।
महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा आयोजना गरिएको थियो भने मतदान खुलामञ्च र राष्ट्रिय सभागृहमा भएको थियो। असोज २३ गते भएको मतदानपछि सोही दिन राति राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सुरु गरिएको थियो। सभापति पदको मतगणनाको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो।








