काठमाडौं । नेपाली क्रिकेटप्रतिको आकर्षण र बढ्दो पूर्वाधारको प्रत्यक्ष अवलोकन गर्न नेपाल आएका पाकिस्तानका पूर्वतीव्र गतिका बलर शोएब अख्तरले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडी सहभागी हुन नपाएको विषय पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) समक्ष उठाउने बताएका छन्।
तेस्रो संस्करणको एनपीएल अवलोकन गर्न मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पुगेका अख्तरले नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँगको कुराकानीमा यस्तो प्रतिबद्धता जनाएका हुन्।
पाकिस्तान क्रिकेट बोर्डले विदेशी क्रिकेट लिग खेल्न अनुमति माग्ने आफ्ना खेलाडीसँग २५ हजार अमेरिकी डलर शुल्क माग्ने सर्त अघि सारेपछि एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको थियो। त्यसको प्रभावस्वरूप कर्णाली याक्सबाट खेल्न नेपाल आएका पाकिस्तानी टी–२० कप्तान शाहिबजादा फरहानसमेत फर्कन बाध्य भएका थिए। अन्य टोलीले अनुबन्ध गर्ने तयारी गरेका पाकिस्तानी खेलाडी पनि एनपीएलमा सहभागी हुन पाएनन्।
‘यस्तो कुराले मलाई दुःखी बनाएको छ। मैले यसबारे विस्तृत थाहा पाएको छैन, तर यहाँबाट फर्केपछि पीसीबीसँग अवश्य कुरा राख्नेछु,’ अख्तरलाई उद्धृत गर्दै क्यानका उपाध्यक्ष रोशन सिंहले नेपाल न्यूज बैंकसँग भने।
नेपाल भ्रमणका क्रममा देखेको नेपाली क्रिकेटप्रतिको उत्साह र यहाँको बढ्दो पूर्वाधार क्षमताबारे पनि पाकिस्तानी क्रिकेट बोर्डलाई जानकारी गराउने अख्तरले बताएका छन्।
टेलिभिजनमा आफ्नो आक्रामक बलिङ हेरेर हुर्किएका नेपाली क्रिकेट समर्थकले अख्तरलाई पहिलोपटक प्रत्यक्ष देख्न पाउँदा उत्साह व्यक्त गरेका थिए। जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल भइरहेका बेला कीर्तिपुर पुगेका उनले रंगशाला परिसरको अवलोकन गर्दै समर्थकलाई अभिवादन गरेका थिए।
फ्लडलाइटको उज्यालोमा दर्शकको उत्साह र क्रिकेटप्रतिको मोह देखेपछि अख्तरले नेपालले सीमित क्षेत्रमा पनि उत्कृष्ट क्रिकेट प्रस्तुत गरिरहेको प्रतिक्रिया दिएका थिए। उनले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको संकेतसमेत गरेका थिए।
टेलिभिजनमा खेलका क्रममा आक्रामक रूपमा प्रस्तुत हुने अख्तर कीर्तिपुरमा भने सहज र आत्मीय देखिएको क्यानका उपाध्यक्ष सिंहले बताए।
क्यानका अध्यक्षसहितका पदाधिकारीसँगको भेटमा अख्तरले नेपाली क्रिकेटको विकास र प्रवर्द्धनका लागि आफू सहयोग गर्न तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। उनको पहलले पाकिस्तानी खेलाडीको एनपीएल सहभागितासम्बन्धी विषयमा आगामी दिनमा संवादको बाटो खुल्ने अपेक्षा गरिएको छ।








