काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने चम्किएप्छि विराटनगर किङ्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको लिगको नवौं खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई नौ रनले हरायो ।
टस हारेर सुरुमा ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदा मात्र १२६ रन बनाउन सक्यो ।
प्रतियोगितामा जनकपुर लगातार दोस्रो खेलमा पराजित भयो । टोली पहिलो खेलमा काठमाडौंसँग पाँच विकेटले पराजित भएको थियो । विराटनगर भने लगातार तेस्रो जित निकाल्न सफल भयो । उसले पहिलो खेलमा पोखरालाई ५३ रनले तथा दोस्रो खेलमा काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो । यो जितपछि टोली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
जनकपुरका लागि जान निकोल इटनले सर्वाधिक ४१ रन बनाए । उनले ३० बलमा चार चौका र १ छक्का हिर्काएका थिए । तर, दुई रन बनाउन क्रममा रन आउट हुन पुगेका हुन् ।
ओपनिङ ब्याटर लाहिरु मिलान्थाले २२ बलमा दुई चौका र एक छक्कासहित २३ रनको योगदान गरे । संजय कृष्णमुर्थीले १२ बलमा ३ चौका र एक छक्कासहित २० रन बनाएका हुन् ।
मार्की आसिफ शेखले १३ रन बनाउँदा कप्तान अनिलकुमार शाह भने १४ बलमा मात्र ४ रन बनाएर आउट भए । मयन यादव, ४, रुपेश सिंह ८, संगित कोरे डक, आदित्य महता १ रन मात्रै बनाएर आउट भएका थिए । जनकपुरको लागि इटन र रुपेश सिंहले २१ बलमा सर्वाधिक ३४ रनको साझेदारी गरेका थिए ।
विराटनगरका स्पिनर खेलमा हाबी भएका थिए । दुई स्पिनरले ६ विकेट लिएका एि । कप्तान सन्दीप लामिछाने चार तथा सूर्य तामाङले दुई विकेट हात पारे । सन्दीपले चार ओभरमा मात्र ११ रन खर्चिएका हुन् । सूर्यले २० रन खर्चिए । सुभम रन्जने र मार्चन्ट डि लिग्नेले एक विकेट लिए ।






