काठमाडौं । आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ।

कम्पनीको स्थापनाको ३०औँ वार्षिकोत्सवका अवसरमा गरिएको यस सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउनु रहेको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

सम्झौताअन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएलका खेल सञ्चालन हुने अवधिमा आर्य फार्माल्याबले स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको छ।

ADVERTISEMENT

यी कार्यक्रममार्फत खेल हेर्न आउने दर्शकलाई स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी, परामर्श तथा स्वस्थ जीवनशैलीबारे सचेत गराउने कम्पनीको लक्ष्य छ।

सहकार्यअन्तर्गत कम्पनीले खेलाडीको उत्कृष्ट प्रदर्शन र खेलभावनालाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ मार्फत प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ। त्यस्तै, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँको ‘हटबिट मुमेन्ट अफ द म्याच’ पुरस्कार प्रदान गरिनेछ।

यी कार्यक्रमले खेलाडीको योगदानको कदर गर्नुका साथै दर्शकको सहभागिता र उत्साह बढाउन सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

आर्य फार्माल्याबले आफ्नो स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा सुरु गरिएको यस सहकार्यलाई संस्थागत यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। लोकप्रिय खेल क्रिकेटसँग स्वास्थ्य सचेतनालाई जोडेर धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्‍याउने कम्पनीको लक्ष्य छ।