काठमाडौं । उपचाररत बिरामीका लागि आवश्यक रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले सर्वसाधारणलाई रक्तदान गर्न विशेष आग्रह गरेको छ। रक्तसञ्चार केन्द्रमा सबै रक्तसमूहको मौज्दात सकिएको र बिरामीलाई आवश्यक रगत व्यवस्थापन गर्न कठिनाइ भइरहेको सोसाइटीले जनाएको छ।
बडादसैँको लामो बिदाका कारण केन्द्रीय रक्तसञ्चार सेवामा नियमित रक्तदान कार्यक्रम सञ्चालन हुन नसक्दा रगतको अभाव भएको हो। यसबीच उपचाररत बिरामीका लागि रगतको माग बढ्दै गएको र मौज्दात घट्दै गएपछि अवस्था थप चुनौतीपूर्ण बनेको छ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न आग्रह गरेका छन्।
असन र सुन्धारामा रक्तदान कार्यक्रम
रगतको अभाव भइरहेका बेला बुधबार असन सेवा समितिले असन टोल र सुन्धारामा रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा काठमाडौं महानगरपालिकाको विशेष सहकार्यमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाले रक्तदान गरेका छन्।
रेडक्रसले देशका ७३ जिल्लामा रहेका १२० रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा प्रदान गर्दै आएको छ। बिरामीका लागि रगत आवश्यक परेमा वा रक्तदानसम्बन्धी जानकारी लिन केन्द्रीय रक्तसञ्चार सेवाको ०१–५३८८४८५ र ०१–५३८८४८६ मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै, निःशुल्क हटलाइन ११३० मा पनि सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ।
रगतको अभावका कारण बिरामीको उपचार प्रभावित हुन नदिन स्वस्थ व्यक्तिले रक्तदानमा सहभागी हुन रेडक्रसले आग्रह गरेको छ।








