काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा नक्कली भगवान् जन्मिएर हैरान भएको टिप्पणी गरेका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले अहिले नक्कली भगवान्को संख्या बढेको भन्दै व्यंग्य गरेका हुन्।

ADVERTISEMENT

उनले २२–२३ सय वर्षअघि भगवान्हरू धेरै जन्मिएको प्रसंग उल्लेख गर्दै पार्वतीको श्रापपछि देवता जन्मिन छाडेको तर अहिले नक्कली भगवान् देखिन थालेको बताएका थिए।

ADVERTISEMENT

‘यो २२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दा भगवान्हरू छ्यासछ्यास्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए। धन्न पार्वतीले सराप दिइछन् र त्यसपछि देवता जन्मन पाएनन्। तर अहिले नक्कली भगवान् जन्मिएर हैरान छ,’ ओलीले भने।

उनले विदेशी जोगी तथा विद्वान्लाई बढी महत्त्व दिने तर आफ्नै देशका विद्वान् र उनीहरूले लेखेका ग्रन्थलाई कम महत्त्व दिने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए।

दक्षिणतिरबाट आएका जोगीको खुट्टा समातेर ढोग्न मन लाग्ने तर आफ्नै देशका विद्वान्लाई पर्याप्त सम्मान नगर्ने प्रवृत्ति रहेको उनको भनाइ थियो। नेपाली विद्वान्का कृतिभन्दा विदेशीका उद्धरण बढी प्रयोग गर्ने गरिएको उनले टिप्पणी गरे।