काठमाडौं, १० कात्तिक। डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो।

ADVERTISEMENT

चितवनका लागि ओपनर मलानले ५१ बलमा ७० रन बनाए। उनले ५ चौका र ५ छक्का प्रहार गरे। यो जारी एनपीएलको पहिलो अर्धशतक हो। मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरे। देव १५ बलमा १२ रन बनाएर आउट भए।

ADVERTISEMENT

विकेटकिपर अर्जुन साउदले ९ बलमा ३ रन मात्र बनाउन सके। उनलाई एन्जेलो म्याथ्युजको बलमा कप्तान सन्दीप लामिछानेले क्याच गरे। त्यसअघि चरिथ असलंकाले विराटनगरलाई पहिलो सफलता दिलाएका थिए।

मलान १३औँ ओभरमा आन्द्रे रसेलको बलमा आउट भएपछि रवि बोपारा र डान मोस्लीले चितवनको इनिङ्स सम्हाले। उनीहरूले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे। बोपारा ३२ र मोस्ली २९ रनमा नटआउट रहे।