काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा समेटियो ।
चितवनको जितमा बलर कमलसिंह ऐरी नायक बने । उनले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । १८औँ ओभरमा लगातार दुई विकेट लिँदै उनले विराटनगरलाई दबाबमा पारे । रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एक–एक विकेट लिए ।
विराटनगरलाई जितका लागि अन्तिम ३ ओभरमा २१ रन आवश्यक थियो । तर, कमलले १८औँ ओभरमा रुपेश सिंह र प्रतिश जिसीलाई लगातार आउट गरेपछि खेल चितवनको पक्षमा मोडियो । १९औँ ओभरमा रिजन ढकालले थप दुई विकेट लिएपछि विराटनगरको जितको सम्भावना कमजोर बन्यो ।
विराटनगरका लागि इम्रान शेखले सर्वाधिक ३९ रन बनाए । आन्द्रे रसेलले १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन जोडे । लोकेश बमले १४ बलमा २६ रन बनाए । एन्जेलो म्याथ्युजले १४ र बसिर अहमदले १३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका ओपनर डाविड मलानले ५१ बलमा सर्वाधिक ७० रन बनाए ।
मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरे । देव १२ रनमा आउट भए भने अर्जुन साउदले ३ रन मात्र बनाउन सके । मलान १३औँ ओभरमा आन्द्रे रसेलको बलमा आउट भएका थिए ।
त्यसपछि रवि बोपारा र डान मोस्लीले चितवनको इनिङ्स सम्हाले । उनीहरूले तेस्रो विकेटका लागि अविजित ६७ रनको साझेदारी गरे । रवि ३२ र डान २९ रनमा अविजित रहे ।
एनपीएलअन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।








