काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी चार दिन मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान छ।
मङ्गलबार कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। मङ्गलबार राति देशभर आंशिक बदली रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
बुधबार देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।
बिहीबार भने मौसम थप बदली हुने अनुमान छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।








