काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म रहनेछ। महाशाखाका अनुसार सोमबार र मंगलबारसम्म देशभरको मौसम सामान्यतया सफा रहनेछ।

ADVERTISEMENT

बुधबारदेखि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली सुरु हुने र राति कोशी, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्नेछ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

ADVERTISEMENT

बिहीबारदेखि मौसमी गतिविधि थप सक्रिय हुने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात बढ्न सक्नेछ। कर्णालीको हिमाली क्षेत्रमा पनि यसको प्रभाव पर्नेछ भने पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

शुक्रबार यो प्रणाली देशका अधिकांश भागमा फैलिने र धेरैजसो स्थानमा बदलीसँगै मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने तथा हिमाली क्षेत्रमा भारी हिमपातको जोखिम रहेको छ।

शनिबारसम्म मौसम प्रभावित रहने र त्यसपछि क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ। बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भारत हुँदै नेपालतर्फ आउने भएकाले मौसममा यस्तो परिवर्तन देखिन लागेको हो।

धानबाली भित्र्याउने समय भएकाले वर्षाले कृषि क्षेत्रमा असर पार्न सक्ने भन्दै किसानलाई सतर्क रहन आग्रह गरिएको छ। हिमाली क्षेत्रमा जाने पर्यटक तथा पदयात्रीलाई पनि मौसमको अवस्था बुझेर यात्रा गर्न र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

मौसमसम्बन्धी थप जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल हेर्न वा टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिनेछ।