काठमाडौं । असोज ९ गतेदेखि हुने भनिएको भारी वर्षा र हिमपातको जोखिमबारे गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मौसम विभाग पुगेर जानकारी लिएका छन्।
उनीहरू मंगलबार बबरमहलस्थित मौसम विज्ञान विभागको कार्यालय पुगेर महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतसँग भेट गरी सम्भावित मौसमजन्य जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन्।
छलफलका क्रममा मौसमविद्हरूले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने जानकारी दिएका थिए।
वर्षा गराउने प्रणाली नेपालभर फैलिने सम्भावना रहेको विभागले जनाएको छ। पहाडी तथा तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातका कारण डुबान, कटान तथा पहिरोको जोखिम बढ्न सक्ने बताइएको छ।
विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार हालसम्मको अवस्थाका आधारमा लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना बढी देखिएको छ। सम्भावित वर्षाका कारण डुबान, कटान र पहिरोको जोखिम रहेकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा हिमाली क्षेत्रमा यात्रा नगर्न उनले आग्रह गरेकी छन्।
मौसम विभागले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित मन्त्रालयका अधिकारीसँग नियमित रूपमा सूचना आदानप्रदान भइरहेको जनाएको छ।
टाढा र रातिको यात्रामा सतर्कता
मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अण्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र बंगालको खाडीको मध्य भागमा पुगेर थप शक्तिशाली हुँदै ‘डिप डिप्रेसन’मा परिणत भएको छ। उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने अनुमान गरिएको छ।
यसको प्रभावले बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ। महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। एक–दुई स्थानमा अति भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मौसम विभागको विशेष बुलेटिनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले अत्यन्त जरुरीबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय तथा स्वयंसेवकलाई समेत नागरिकलाई सुसूचित गर्न र सम्भावित प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्नसमेत प्राधिकरणले आग्रह गरेको छ।







