काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।

हाल देशको हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

ADVERTISEMENT

महाशाखाका अनुसार सोमबार हिमाली तथा पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहने सम्भावना छ।

आज हिमाली भू-भागका केही स्थान र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

ADVERTISEMENT

महाशाखाका अनुसार कर्णाली प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। वर्षा, चट्याङ र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।