काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको घलेखर्कमा सबैभन्दा बढी ७३.८ मिलिमिटर वर्षा मापन भएको छ।
महाशाखाका अनुसार दार्चुलाको धरमपानीमा ६४.३, सङ्खुवासभाको चैनपुर पूर्व केन्द्रमा ६२.८ र सर्लाहीको नवलपुरमा ६१.२ मिलिमिटर वर्षा भएको छ। सर्लाहीकै मानुसमारा केन्द्रमा ५३.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
यस्तै, काठमाडौंको कलंकीमा ५१.२ तथा सिन्धुपाल्चोकको बौनीपाटी र काभ्रेको रोशी केन्द्रमा ५०.४/५०.४ मिलिमिटर वर्षा भएको छ।
मौसम विज्ञानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा मानिन्छ। १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढीलाई अति भारी वर्षा भनिन्छ।
यस अवधिमा अन्य धेरै जिल्लामा १० देखि ५० मिलिमिटरसम्म मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। आज पनि देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाले मौसमको अवस्थाबारे जानकारी राख्न आवश्यक छ।







