जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेका तर्फबाट सरकारमा सहभागी चार जना मन्त्रीले शुक्रबार राजीनामा दिएसँगै पार्टीले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।
मुख्यमन्त्री यादवसमक्ष श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा बुझाएका हुन्।
एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसमेत बुझाएका छन्।
एमालेले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने उद्देश्यले समर्थन फिर्ता लिएको जनाएको छ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीसमेत सहभागी छ।










