काठमाडौं, २५ असोज । बूढीगण्डकी नदीमा लेदोसहित आएको आकस्मिक बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हेलिकोप्टर र स्थलमार्गबाट खटिएको टोली परिचालन गरी उनीहरूको उद्धार गरेको हो।
नेपाली सेनाका अनुसार चारवटा हेलिकोप्टरसहित परिचालित टोलीले जगत्बाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट ९ जना र पायुङबाट १२ जनाको उद्धार गरेको छ।
यारुबाट उद्धार गरिएकामध्ये एक शिशु र एक विदेशी नागरिकसमेत रहेका छन्।
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले गोरखाका विभिन्न क्षेत्रमा जनधनको क्षति पुर्याएको छ। बाढीका कारण घर, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको छ।
नेपाली सेनाले अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ।
बाढीको प्रभाव र क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।







