धादिङ। धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका–४, बोराङस्थित बतासे फेदीमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बतासे दोभानमा एकादशी मेलाको पूजा गरेर लापातर्फ फर्किने क्रममा जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।
रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङका अनुसार दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिएका छन्।
दुर्घटनास्थल दुर्गम क्षेत्रमा पर्ने र आसपास मोबाइल नेटवर्कसमेत नचल्ने भएकाले उद्धार कार्यमा कठिनाइ भएको छ। राति करिब २ बजेअघि दुर्घटना भए पनि घाइतेलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या भएको बताइएको छ।
घाइतेहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिएका छन्।












