काठमाडौं । त्रिशूली नदीको कटानले सडक भासिएपछि धादिङको गलौंदीमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
गजुरी गाउँपालिका नजिकै गलौंदी क्षेत्रमा काठमाडौं जानेतर्फको सडक त्रिशूली नदीले कटान गरेपछि यातायात ठप्प भएको हो।
सडक विभागका अनुसार अवरुद्ध सडक खुलाउन पहाडतर्फको भाग काटेर सडक चौडा बनाउने तयारी गरिएको छ। कामको अवस्था र मौसम अनुकूल रहे आज राति ९ बजेदेखि एकतर्फी यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी, आइतबार बिहान ७ बजेदेखि सडक चौडा गर्ने काम सुरु गरी साँझ ६ बजेसम्म दुईतर्फी यातायात सञ्चालन गर्ने लक्ष्य विभागले लिएको छ।
सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यात्रु तथा सवारी चालकलाई अनावश्यक यात्रा नगर्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।







