काठमाडौँ – त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नामको गाडी फेला परेको छ। सो गाडीका पाट्र्सपुर्जा तनहुँको आबुखैरेनी गाउँपालिका–५, द्धोन्द्राङ बेँसी नजिक त्रिशूली नदीको किनारमा भेटिएको हो।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, गाडी खोजीकार्यका लागि नं १७ गण चितवन र नं २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले उक्त गाडी फेला पारेका हुन्।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स २०८१ असार २८ गते पहिरोले पुरिएर चितवनको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका थिए।

गणपति डिलक्समा सवार ३१ जनामध्ये तीन जनाले हामफालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए। सोमध्ये अहिलेसम्म १४ जनाको शव फेला परेको छ भने बाँकी १४ जना अझै बेपत्ता रहेका छन्।

सुरक्षा निकायहरूले खोजीकार्य जारी राखेका छन् र बेपत्ता व्यक्तिहरूको उद्धार प्रयास तीव्र रूपमा भइरहेको छ।