काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीको जलसतहमा तीव्र वृद्धि भएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७:०० बजेको मापनमा धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह ३ मिटरले बढेको छ।
भोटेकोशी क्षेत्रबाट आएको यो बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ। साथै, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा समेत भारी वर्षा मापन भएकाले नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह थप बढ्ने अनुमान गरिएको छ।
महाशाखाले जारी गरेको विशेष सूचनामा भनिएको छ, “रसुवाबाट आएको बाढी र गण्डकी प्रदेशको भारी वर्षाका कारण नारायणी नदीको जलसतह बढ्दो क्रममा छ।
तसर्थ, चितवन, नवलपरासी लगायत नारायणी नदीको तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई आज दिनभर उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।”






