काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तयारी तीव्र पारेको छ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार प्राकृतिक विपद्का कारण क्षति पुगेका राजमार्ग तथा सडकको मर्मत तथा पुनःस्थापनाको काम तीव्र गतिमा भइरहेको छ। दसैँअघि मुख्य राजमार्गहरू सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको उनले बताए।

ADVERTISEMENT

भोटेकोशी बाढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका सडक मर्मतको काम पनि भइरहेको छ। प्रवक्ता न्यौपानेका अनुसार आगामी ४–५ दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ। मुस्ताङतर्फको सडक पनि चाँडै सञ्चालनमा आउने उनले बताए।

ADVERTISEMENT

उनका अनुसार सडकमा केही असहजता रहे पनि उपत्यकाबाट घर जाने यात्रु तथा खाद्यान्न र अत्यावश्यक सामग्रीको ढुवानी नै रोकिने अवस्था नहुने गरी व्यवस्थापन भइरहेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भदौ १० गतेको भोटेकोशी बाढीका कारण रसुवा जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध छन्। त्यस्तै, गण्डकी प्रदेशको म्याग्दीमा रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्ड असोज १० गतेको पहिरोपछि पूर्ण रूपमा बन्द छ।

ADVERTISEMENT

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदिकाली गाउँपालिका–३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोर पनि असोज १४ गतेदेखि प्रभावित भएको थियो। उक्त सडक हाल एकतर्फी सञ्चालनमा आए पनि ठूला सवारीसाधन चल्न नसक्ने प्रहरीले जनाएको छ।

मनाङमा असोज १८ गते आएको बाढीका कारण प्रभावित बेँसीसहर–खाङ्सार सडकखण्ड पनि हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

बाँकी अवरुद्ध सडकहरूलाई पनि सकेसम्म छिटो पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक समन्वय र मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ।