काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैंमा नयाँ तथा खुद्रा नोट सटहीका लागि छुट्टै मिति तोकेर वितरण नगर्ने भएको छ। केन्द्रीय बैंकले कार्यालय समयमै नियमित सेवाअन्तर्गत मागअनुसार नोट सटही सुविधा उपलब्ध गराउने भएको हो।
राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार यसपालिदेखि दसैंलाई लक्षित गरेर नयाँ तथा खुद्रा नोट सटहीको छुट्टै औपचारिक सूचना जारी गर्ने अभ्यास हटाइएको छ।
‘दसैंका बेला नयाँ तथा खुद्रा नोट सटही सुविधा उपलब्ध हुने मिति तोक्ने अभ्यास हटाएका छौं,’ दाहालले भने, ‘यसपालिदेखि केन्द्रीय बैंकको नियमित कामअन्तर्गत नै नयाँ तथा खुद्रा नोट सटही सेवा उपलब्ध हुन्छ।’
दसैंमा नयाँ नोटको माग बढी हुने भएकाले विगतमा केन्द्रीय बैंकले चाडपर्वलाई लक्षित गरी नयाँ नोट बजारमा पठाउँदै आएको थियो। तर, अब भने कुनै विशेष चाडपर्वलाई लक्षित नगरी बजारको माग र आवश्यकताअनुसार नियमित रूपमा सेवा दिने नीति लिइएको दाहालले बताए।
उनका अनुसार राष्ट्र बैंकसँग पर्याप्त नोट मौज्दात रहेकाले मागअनुसार नयाँ नोट उपलब्ध गराइनेछ। नयाँ नोटले माग धान्न नसके सुकिला नोट वितरण गर्ने योजना रहेको उनले जानकारी दिए।
राष्ट्र बैंकको बैंकिङ काउन्टरबाट कार्यालय समयमा नोट सटही सुविधा उपलब्ध हुँदै आएको छ। बैंक तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ तथा खुद्रा नोट लगिसकेको र आफ्ना ग्राहकलाई वितरण गरिरहेको राष्ट्र बैंकले जनाएको छ।
प्राकृतिक विपत्तिका कारण यसपालिको दसैं धेरै सर्वसाधारणका लागि विगतजस्तो उत्सवका रूपमा नहुने अवस्थालाई समेत ध्यानमा राखेर छुट्टै सूचना जारी गरी नयाँ नोट वितरण नगर्ने निर्णय गरिएको दाहालले बताए।
दुई बन्डलसम्म साट्न पाइने
राष्ट्र बैंकका अनुसार हाल एक व्यक्तिले नोट सटही गर्दा दुई बन्डलसम्म साट्न पाउँछन्। एक बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटका एक–एक सय थान हुन्छन्।
दाहालका अनुसार व्यक्तिगत प्रयोजनका लागि नयाँ नोट उपलब्ध गराइँदैन। व्यापारिक प्रयोजनका लागि भने नयाँ तथा सुकिला नोट सटही सुविधा उपलब्ध गराउँदै आएको राष्ट्र बैंकले जनाएको छ।







