हुम्ला । गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि हुम्लाको जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।

नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोटलगायत तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ ।

ADVERTISEMENT

लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ । कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेपछि यातायातसमेत प्रभावित भएको स्थानीयले बताएका छन् ।

ADVERTISEMENT

सर्केगाड–१ जैरको खच्चाका दीपक कार्कीका अनुसार खच्चामा सुक्खा पहिरो आइरहने समस्या रहेकाले लगातारको वर्षाले सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

वर्षाका कारण पाक्न लागेको तथा खेतबारीमा रहेको अन्नबाली र तरकारीमा समेत क्षति पुग्ने जोखिम बढेको छ । केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

ADVERTISEMENT

वर्षा र हिमपातका कारण पशुचौपायालाई समेत समस्या भएको छ । चिसो बढेपछि खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार तथा संरक्षणमा कठिनाइ भएको जनाइएको छ ।

अचानक मौसममा आएको परिवर्तनसँगै उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित क्षतिप्रति सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जिल्लाका विभिन्न स्थानमा हिमपात तथा वर्षा भइरहेको भन्दै सुरक्षित रहन आग्रह गरेका छन् ।

उनका अनुसार वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ र अहिले पनि वर्षा निरन्तर भइरहेको छ ।