काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै थापाले संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको बताएका हुन्।

ADVERTISEMENT

१० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै थापाले यो काठमाडौंको एउटा चौर मात्र नभएको बताए। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले यहीँबाट ठूला राजनीतिक दल र नेताहरूले आफ्नो राजनीतिक यात्रा अघि बढाएको बताए।

ADVERTISEMENT

बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायत नेताहरूले समेत खुलामञ्चबाट सम्बोधन गरेको स्मरण गर्दै थापाले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर खुलामञ्चले दिएको बताए।

उनले अब देशका विभिन्न ठाउँमा यस्ता खुला संवादका थलो आवश्यक रहेको बताए। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उनको भनाइ थियो।

ADVERTISEMENT

थापाले संसद जनताको आवाज र प्रश्न प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई थप खुला र उत्तरदायी बनाउनुपर्ने बताए। सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्ने र उनीहरूसँग संवाद गर्ने संस्कार विकास गर्नुपर्ने उनको भनाइ छ।

पार्टीभित्र पनि फरक मत राख्ने र नेतृत्वलाई प्रश्न गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै थापाले प्रश्न उठाएकै कारण पार्टी सदस्यता गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।

‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने।

यसैबीच, थापाले देशका वर्तमान समस्यालाई हल्का रूपमा लिन नहुने बताएका छन्। नेपालको समस्या केवल आन्तरिक कारणले मात्र नभएको भन्दै उनले विश्व राजनीतिमा भइरहेका घटनाको प्रभावसमेत नेपालमा परेको बताए।

रुस–युक्रेन युद्ध तथा मध्यपूर्वमा भइरहेको द्वन्द्वको प्रभावबाट नेपाल पनि अछुतो रहन नसक्ने उनको भनाइ थियो। समस्या समाधानका लागि बदलिँदो विश्व परिस्थिति र त्यसको नेपालमा पर्ने प्रभावलाई समेत गम्भीरतापूर्वक बुझ्नुपर्ने उनले बताए।

महाधिवेशन उद्घाटन सत्रको अन्तिममा सम्बोधन गरेका थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई समेत स्मरण गरे। देउवाका लागि उद्घाटन समारोहमा कुर्सी राखिएको र उनले आएर उद्घाटन गर्ने अपेक्षा गरिएको थापाले बताए।

देउवालाई सम्मान गर्ने विषय उहाँका लागि पटक–पटक सलामी दिनुमा नभई उहाँले निर्माण गरेको पार्टीलाई अझ बलियो र उचाइमा पुर्‍याउनुमा रहेको थापाको भनाइ थियो।