काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार र आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले अभियानको नाम ‘हामी आउँदैछौँ’ राखेको छ।
शनिबार अबेरसम्म सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले असोज २० देखि २७ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
अभियानअन्तर्गत रास्वपाका सबै सांसद र केन्द्रीय सदस्यलाई ७७ वटै जिल्ला तथा ७५३ वटै पालिकामा परिचालन गरिनेछ। पार्टीका अनुसार अभियानको मुख्य उद्देश्य संगठन विस्तार, जनतासँग प्रत्यक्ष संवाद तथा स्थानीय तहसम्म पार्टीको उपस्थिति मजबुत बनाउनु हो।
प्रवक्ता जगदीश खरेलका अनुसार अभियानको रोस्टर बनाएर सांसद तथा केन्द्रीय सदस्यहरूलाई परिचालन गरिनेछ। सांसदहरूलाई उनीहरूको आफ्नै निर्वाचन क्षेत्र वा जिल्लाभन्दा फरक जिल्लामा पठाइनेछ।
यसै बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति पनि गठन गरेको छ। समितिमा तोसिमा कार्की, मिलन लिम्बूलगायतका नेता तथा सातै प्रदेशका सभापतिहरू सदस्य रहनेछन्।
रास्वपाले १४ वटा केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा सदस्यहरू मनोनयन गर्ने निर्णय पनि गरेको छ।
यस्तै, मधेश प्रदेशसम्बन्धी विवाद समाधानका लागि सहमहामन्त्री हरि ढकालको नेतृत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदनमाथि अध्ययन गरी आवश्यक कदम चाल्ने तथा काठमाडौं उपत्यकामा पार्टीको आफ्नै स्थायी कार्यालय स्थापनाका लागि जग्गा वा घर खोज्ने निर्णय पनि बैठकले गरेको छ।
सरकारमा पार्टीको ६ महिनाको सहभागिता सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै रास्वपाले आगामी दिनमा विकास निर्माण र सुशासनको गतिलाई थप तीव्र बनाउनुपर्ने बताएको छ।







