काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को उपस्थितिको मिति माग गर्दै विपक्षी दलहरूले रुलिङ माग गरेपछि सभामुखले व्यंग्यात्मक शैलीमा जवाफ दिएका छन् ।

प्रधानमन्त्रीको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलहरूले दुई सातादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् । अवरोधकै बीच सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा वैकल्पिक विकास वित्त व्यवस्थापन विधेयक भने प्रतिनिधिसभाबाट पारित भइसकेका छन् ।

ADVERTISEMENT

मंगलबारको बैठकमा पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफल पनि अवरोधकै बीच अघि बढिरहेको थियो । यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले संसद् अवरोधलाई “तमासा”को संज्ञा दिएपछि बैठक तनावपूर्ण बनेको थियो । त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

पुनः बसेको बैठकमा रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराए । तर, उनले प्रधानमन्त्री जवाफ दिनका लागि उपस्थित हुने वा नहुनेबारे स्पष्ट पारेनन् ।

ADVERTISEMENT

बुर्लाकोटीले ‘सम्भवतः एक साताभित्र उपस्थित हुनुहुनेछ’ भन्ने शब्द प्रयोग गरेपछि विपक्षी सांसदहरूले सभामुखसँग प्रधानमन्त्री उपस्थित हुने निश्चित मिति र समय तोकेर रुलिङ गर्न माग गरेका थिए ।

त्यसको जवाफमा सभामुखले “माननीय सदस्यहरूले मिति, समय माग्नुभएको छ । सदन चलेकै दिन आउनुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू । म सदन चलेकै दिन सम्माननीयज्यूलाई बोलाउँछु,” भन्दै प्रतिक्रिया दिएका थिए ।

सभामुखले कार्यपालिकाले व्यवस्थापिकालाई औपचारिक सूचना पठाउनुपर्ने संवैधानिक प्रक्रिया रहेको उल्लेख गर्दै प्रधानमन्त्री छिट्टै उपस्थित हुने जानकारी आफूले प्राप्त गरेको बताए ।

प्रधानमन्त्रीको उपस्थितिको मिति प्राप्त भएपछि सदनलाई औपचारिक रूपमा जानकारी गराइने सभामुखको भनाइ थियो ।