काठमाडौं । गायिका एलिना चौहानले आफ्नो विगतसँग जोडिएका विषय र पुराना तस्बिरमार्फत समाचार नबनाउन सञ्चारकर्मी तथा मिडियाकर्मीलाई आग्रह गरेकी छन्।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै उनले आफू आफ्नो विगतबाट अघि बढिसकेको भन्दै अब वर्तमानमा बाँच्न दिन आग्रह गरेकी हुन्।
‘सम्पूर्ण सञ्चारकर्मी तथा मिडियाकर्मीहरूलाई मेरो एउटा आग्रह छ– मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्,’ उनले लेखेकी छन्।
उनले आफूले विगतका घटनालाई बिर्सेर धेरै अगाडि बढिसकेको बताउँदै पुराना विषय र तस्बिरलाई बारम्बार समाचारमा ल्याउँदा आफूले बिर्सिसकेको पीडा पुनः बल्झिने उल्लेख गरेकी छन्।
‘म मेरा पुराना घाउहरूलाई नराम्रो सपना सम्झेर छोडिसकेकी छु। तर हरेक कुरामा त्यही विगत निकालेर, पुराना फोटो टाँसेर समाचार बनाउँदा फेरि त्यही घाउ कोट्याइन्छ,’ उनले भनेकी छन्।
एलिनाले आफ्नो विगतलाई वर्तमानको परिचय नबनाइदिन पनि आग्रह गरेकी छन्। उनका अनुसार विगत उनको जीवनको एउटा अध्याय भए पनि सम्पूर्ण जीवन भने होइन।
साथै उनले आफूविरुद्ध भ्रामक तथा आत्मसम्मानमा आँच पुर्याउने समाचार प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यम र सम्बन्धित व्यक्तिविरुद्ध कानुनी उपचारमा जाने चेतावनीसमेत दिएकी छन्।
‘भ्रामक तथा मेरो आत्मसम्मानमा आँच पुर्याउने समाचारहरू फैलाइरहने मिडिया तथा सम्बन्धित व्यक्तिहरूविरुद्ध अब प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जानेछु,’ उनले लेखेकी छन्।
यस्तो छ उनको पूरा स्टाटस
सम्पूर्ण सञ्चारकर्मी तथा मिडियाकर्मीहरूलाई मेरो एउटा आग्रह छ- मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्। कहिलेकाहीँ त मैले कल्पनासम्म पनि नगरेका कुराहरू समाचारमा देख्छु। म मेरो विगत बिर्सेर धेरै अगाडि बढिसकेकी छु। मैले मेरा पुराना घाउहरूलाई नराम्रो सपना सम्झेर छोडिसकेकी छु उनले लेखेकी छन्, तर हरेक कुरामा त्यही विगत निकालेर, पुराना फोटो टाँसेर समाचार बनाउँदा फेरि त्यही घाउ कोट्याइन्छ। मलाई मुक्ति दिनुस्। मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्। विगत मेरो जीवनको एउटा अध्याय हो, मेरो सम्पूर्ण जीवन होइन। कृपया त्यो अध्याय बन्द गरिदिनुस्।
अनि अर्को कुरा, यो कुरा म कुनै घमण्डले होइन, आत्मविश्वासका साथ भन्छु- मलाई आफ्नो पहिचान बनाउन कसैको नामको सहारा चाहिँदैन। त्यसैले मेरो विगतसँग जोडिएका कुनै नाम वा सम्बन्धलाई बारम्बार निकालेर मेरो आजको परिचय बनाइदिन आवश्यक छैन।
नोट : यस्ता भ्रामक तथा मेरो आत्मसम्मानमा आँच पुर्याउने समाचारहरू फैलाइरहने मिडिया तथा सम्बन्धित व्यक्तिहरूविरुद्ध अब प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जानेछु।








