काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को सङ्घीय संसदीय दलले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको छ।
दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले विपत्तिपछिको राहत, उद्धार र पुनर्निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको हो। बैठकले संसद् अधिवेशन अन्त्य भएसँगै सांसदहरूलाई निर्वाचन क्षेत्रमा पुगेर जनभेटघाटमा केन्द्रित हुन निर्देशन दिएको छ।
बैठकमा संसद्को प्रभावकारिता, जनसरोकारका मुद्दामा पार्टीको भूमिका, कानुन निर्माणमा संसदीय समितिहरूको भूमिका तथा समसामयिक राजनीतिक परिस्थितिका विषयमा समेत समीक्षा गरिएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।
बैठकमा आगामी दिनमा संसद् र संसदीय समितिहरूमा पार्टीका तर्फबाट उठाइने विषयलाई थप प्रभावकारी बनाउनेबारे पनि छलफल भएको थियो।






