काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देशसभा गर्ने भएको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकबाट सन्देशसभासम्बन्धी निर्णय गरिएको हो ।
पार्टीले विभिन्न प्रदेशमा एकता सन्देशसभा सम्पन्न गरिसकेको छ । सुदूरपश्चिममा मंसिर १२, लुम्बिनीमा १३, गण्डकीमा १४, कोशीमा १५ र मधेश प्रदेशमा मंसिर २० गते एकता सन्देशसभा आयोजना गरिएको थियो । तर बागमती प्रदेशको सन्देशसभा भने तय गरिएको थिएन । विभिन्न प्रदेशको माहोल बुझेर नेकपाले पुस ५ मा बागमतीस्तरीय सन्देशसभा गर्न लागेको हो ।
एकता सन्देशसभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठलगायतले सम्बोधन गर्नेछन् ।







