काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाईदुबईको उडानमा भएको घटनाबारे इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूसँग फोनवार्ता गरेका छन्।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेतन्याहूले विमानभित्र भएको घटनाबारे आफूलाई जानकारी गराएको बताएका हुन्। उनका अनुसार विमानमा रहेका यात्रु तथा चालक दलका सदस्यले विमान नियन्त्रणमा लिन प्रयास गरेका थिए।
ट्रम्पले घटनालाई अत्यन्तै गम्भीर र अचम्मलाग्दो भएको बताएका छन्। उनले सह–पाइलट आतंकवादी हुन सक्ने वा मानसिक रूपमा अस्थिर हुन सक्ने बताएका भए पनि घटनाको वास्तविक कारण र उद्देश्य अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन।
घटना बुधबार दुबईबाट तेल अभावतर्फ उडेको फ्लाईदुबईको FZ1073 उडानमा भएको हो। उडानका क्रममा ककपिटभित्र एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेको र त्यसपछि विमानले तीव्र रूपमा उचाइ गुमाएको बताइएको छ।
यात्रु र चालक दलका सदस्यले ककपिटमा प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानलाई साउदी अरबको ताबुकमा आपत्कालीन अवतरण गराइएको थियो। विमानमा रहेका भारतीय पाइलट स्मित मच्छर घाइते भएका छन्।
इजरायली प्रधानमन्त्री नेतन्याहूले घटनामा यात्रु र चालक दलले विमानलाई सम्भावित ठूलो दुर्घटनाबाट जोगाएको भन्दै उनीहरूको प्रशंसा गरेका छन्। तर फ्लाईदुबईले घटनाको कारण र उद्देश्यबारे अनुसन्धान भइरहेको जनाएको छ।












