काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकाले गरिरहेको वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि समेत बम आक्रमण गर्ने धम्की दिएका छन्।

फक्स न्युजका पत्रकार ट्रे यिङ्स्टका अनुसार ट्रम्पले टेलिफोन अन्तर्वार्ताका क्रममा ओमानलाई यस्तो चेतावनी दिएका हुन्। ट्रम्पले ओमानले वार्तामा अवरोध गरे ‘नराम्रोसँग बमबारी गर्ने’ बताएका छन्।

ADVERTISEMENT

ट्रम्पको अभिव्यक्तिभन्दा केही घण्टाअघि इरानले ओमानसँग स्ट्रेट अफ होर्मुजबाट पानीजहाज आवतजावत गराउने विषयमा सहमति नजिक पुगेको जनाएको थियो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले जहाज पार गर्ने मार्गको नक्साबारे दुवै देशबीच समझदारी बनेको बताएका थिए।

ADVERTISEMENT

स्ट्रेट अफ होर्मुज पुनः खोल्ने विषय अमेरिका–इरान वार्ताको प्रमुख एजेन्डा बनेको छ। विश्वको करिब एक–पाँचौं तेल तथा एलएनजी यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यसको अवरोधले विश्वव्यापी ऊर्जा आपूर्ति र तेलको मूल्यमा ठूलो असर पार्न सक्छ।

यसैबीच, ट्रम्पले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग अमेरिकाको प्रत्यक्ष ‘ब्याकच्यानल’ रहेको दाबी गरेका छन्। तर आईआरजीसीका प्रवक्ताले उक्त दाबी अस्वीकार गर्दै अमेरिकी अधिकारीसँग कुनै वार्ता नभएको बताएका छन्।

ADVERTISEMENT

अमेरिका, इरान र ओमानबीच होर्मुज जलडमरूमध्य खोल्ने विषयमा छुट्टाछुट्टै कूटनीतिक प्रयास भइरहेका बेला ट्रम्पको पछिल्लो धम्कीले क्षेत्रीय तनाव थप बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।