काठमाडौं । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने पुरानो झोलुङ्गे पुल भत्काएको छ। बुधबार बिहान नदीको बहाव बढेसँगै पुलको नदीको बीच भागमा रहेको पिलर भत्किएपछि पुलको एक भाग नदीमा खसेको हो।

प्रहरीका अनुसार दोधारा–चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथि रहेको झोलुङ्गे पुलको दोधारा–चाँदनीतर्फको तेस्रो स्पानमा क्षति पुगेको छ। सुरुमा पुलको करिब ५–६ मिटर भाग माथितिर उठेपछि आवतजावतमा समस्या भएको थियो। त्यसको केही समयपछि पुलको पिलर नै भत्किएर स्पान नदीमा खसेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

पुल भत्किएपछि अहिले उक्त मार्गबाट पैदल तथा अन्य आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। पुलको कुन भागमा कति क्षति पुगेको भन्नेबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

दोधारा–चाँदनीका लागि महत्वपूर्ण आवागमनको माध्यम

करिब डेढ किलोमिटर लामो यो झोलुङ्गे पुल दोधारा–चाँदनीका बासिन्दाका लागि लामो समयदेखि आवतजावतको महत्वपूर्ण माध्यमका रूपमा रहँदै आएको थियो। पुलले दोधारा–चाँदनी क्षेत्रलाई जिल्ला सदरमुकाम महेन्द्रनगर अर्थात् भीमदत्तनगरसँग जोड्दै आएको थियो।

महाकाली नदीमाथि बनेको यो पुलको लम्बाइ १ हजार ४५२ दशमलव ९६ मिटर छ। उक्त पुल एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा परिचित छ।

ADVERTISEMENT

पुल निर्माण भएको लामो समय भइसकेकाले पछिल्लो समय यो जीर्ण बन्दै गएको थियो। स्थानीयका अनुसार पुलका विभिन्न संरचनामा समय–समयमा समस्या देखिँदै आएको थियो।

पक्की पुल बनेपछि झोलुङ्गे पुलको प्रयोग घटेको थियो

महाकाली नदीमाथि पक्की पुल निर्माण भएपछि दोधारा–चाँदनी र महेन्द्रनगरबीचको आवागमनका लागि पछिल्लो समय त्यही पुल बढी प्रयोग हुँदै आएको छ। त्यसअघि भने झोलुङ्गे पुल नै स्थानीयका लागि मुख्य आवागमनको माध्यम थियो।

पक्की पुल सञ्चालनमा आएपछि झोलुङ्गे पुलको प्रयोग विगतको तुलनामा घटेको भए पनि स्थानीय बासिन्दा तथा पैदल यात्रुका लागि यसको महत्व कायमै थियो।

बाढीका कारण पुलको पिलर नै भत्किएपछि पुरानो झोलुङ्गे पुलको संरचनामा ठूलो क्षति पुगेको छ। घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले क्षतिको अवस्थाबारे निरीक्षण तथा विवरण संकलन गरिरहेका छन्।

महाकाली नदीमा पानीको बहाव बढेका कारण पुलको संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण आए पनि पुल भत्किनुको प्राविधिक कारण र क्षतिको विस्तृत मूल्यांकन सम्बन्धित निकायबाट हुन बाँकी छ।