बागलुङ । कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुलले बागलुङ र पर्वतवासीको यात्रा सहज बनाएको छ। पुल सञ्चालनमा आएपछि बागलुङ सदरमुकाम र पर्वतको पाङबीचको यात्रा घण्टौँबाट घटेर करिब १० मिनेटमा सीमित भएको छ।
२०७७ सालदेखि सञ्चालनमा आएको यो पुलले बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङलाई जोडेको छ। ‘सिङ्गल स्पान’मा निर्माण गरिएको यो पुललाई संसारकै लामो झोलुङ्गे पुलका रूपमा दाबी गरिएको छ।
कालीगण्डकी नदीबाट करिब १२२ मिटर उचाइमा रहेको पुलको नेपाली नाम ‘गण्डकी सुनौलो झुला’ र अंग्रेजी नाम ‘गण्डकी गोल्डेन ब्रिज’ राखिएको छ। करिब ९ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण भएको पुल अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ।
पुल सञ्चालनमा आउनुअघि बागलुङ कालिका मन्दिरसम्म पुग्ने धेरै पर्यटक बागलुङ बजारसम्म पुग्दैनथे। अहिले भने बागलुङ कालिका, पञ्चकोट, सुरुङभित्र रहेको शालिग्राम सङ्ग्रहालयसँगै झोलुङ्गे पुल पनि पर्यटकको रोजाइमा परेको छ।
विशेषगरी म्याग्दी र मुस्ताङ जाने पर्यटकले समेत पुललाई आफ्नो गन्तव्यमा समेट्ने गरेका छन्। पुलमा फोटो खिच्ने, भिडियो तथा टिकटक बनाउने पर्यटकको संख्या पनि बढ्दो छ। बिदाको समयमा पुलमा सयौँ पर्यटक पुग्ने गरेका छन्।
झोलुङ्गे पुलका कारण बागलुङ र पर्वतबीचको आवतजावत सहज हुनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको छ। बागलुङ झोलुङ्गे पुलको जिल्लाका रूपमा समेत परिचित छ।






