जेराल्डटननजिकै ३२ वर्षीय पुरुषमाथि गोली प्रहार, गम्भीर घाइते भए पनि अवस्था खतरामुक्त सिड्नी, असोज १४ । पश्चिमी अस्ट्रेलियाको जेराल्डटननजिकै एक पुरुषमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पश्चिमी अस्ट्रेलिया प्रहरीले बुधबार बिहान करिब १२:५० बजे जेराल्डटननजिकै गोली चलेको सूचना पाएपछि आपतकालीन टोली घटनास्थल पुगेको जनाएको छ। घटनास्थलमा ३२ वर्षीय पुरुष गोली लागेको अवस्थामा फेला परेका थिए। उनलाई गम्भीर तर ज्यानलाई खतरा नरहेको चोटसहित अस्पताल लगिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

घटनापछि स्थानीय बासिन्दाको सुरक्षाका लागि प्रहरीले सूचना जारी गर्दै आसपासको क्षेत्रमा खोजी अभियान सञ्चालन गरेको थियो। विशेष सुरक्षा टोलीसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

ADVERTISEMENT

प्रहरीका अनुसार बुधबार बिहान करिब १०:३० बजे जेराल्डटनको पूर्वी क्षेत्रमा पाँच जनालाई पक्राउ गरिएको हो। प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन र शंकास्पद गतिविधि देखिए तत्काल जानकारी गराउन आग्रह गरेको छ। जेराल्डटन पर्थ सहरबाट करिब ३७० किलोमिटर उत्तरमा पर्छ।

 

ADVERTISEMENT