काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनप्रति विश्व समुदायले ठूलो चासो देखाएको बताएका छन्।

महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री शाहको सम्बोधनपछि अन्तर्राष्ट्रियस्तरमा त्यसबारे व्यापक चासो देखिएको दाबी गरेका हुन्।

ADVERTISEMENT

उनका अनुसार नेपालको पछिल्लो राजनीतिक परिवर्तनपछि बनेका प्रधानमन्त्रीले पहिलोपटक विश्व मञ्चमा देशलाई कसरी प्रस्तुत गर्छन् भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको चासो थियो। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सत्रमा सम्बोधन गरेका थिए।

ADVERTISEMENT

खनालले प्रधानमन्त्रीको सम्बोधनपछि न्युयोर्कमा भएका औपचारिक तथा अनौपचारिक भेटवार्तामा विदेशी प्रतिनिधि र कूटनीतिज्ञहरूले मन्तव्यबारे सकारात्मक प्रतिक्रिया दिएको बताए।

संयुक्त राष्ट्रसंघमा शाहले भोटेकोशी बाढी, जलवायु न्याय, जलवायु वित्त तथा हिमालय क्षेत्रमा क्षेत्रीय सहकार्यको विषय उठाएका थिए। उनले जलवायुजन्य विपद्पछि नेपाललाई ऋणभन्दा अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका थिए।

ADVERTISEMENT

यसैबीच, संयुक्त राष्ट्रसंघको आधिकारिक युट्युब च्यानलमा उपलब्ध विश्व नेताहरूका सम्बोधनमध्ये शाहको भाषण सर्वाधिक हेरिएको दाबीसमेत सार्वजनिक भएको छ। सेप्टेम्बर २७ सम्मको रिपोर्टअनुसार उनको भिडियोले ४ लाख ६६ हजारभन्दा बढी भ्युज पाएको थियो।

खनालले भोटेकोशी बाढीपछि नेपालको पुनर्निर्माण तथा जलवायु संकटसँग जुध्न अन्तर्राष्ट्रिय समुदायबाट सहयोगका लागि चासो देखिएको पनि बताएका छन्।