काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आफूलाई संघीयताविरोधीको रुपमा चित्रित गरिएकोमा दुःखेसो पोखेका छन् । उनले आफूलाई संघीयता विरोधीको रूपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूसँग आग्रह गरेका छन् ।
सुनसरी घटना लगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता गरेका हुन् । मधेशका नेताहरूले प्रदेशहरूलाई बलियो नबनाउँदा, सुरक्षालगायतका जिम्मेवारी प्रदेशमा नहुँदा यस्ता घटना नियन्त्रणमा समस्या भएको कुरा उठाएपछि प्रधानमन्त्री शाहले संघीयता र प्रदेशको विषयमा बोलेका थिए ।

बैठकपछि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री शाहले आफूले बलगर संघीयता बनाउने भनेको जानकारी दिए । ‘मलाई संघीयताविरोधी सपनामा पनि नसोच्नुहोला । प्रदेश बलियो बनाउने हो । संरचनाहरूमा सुधार गर्ने कुरा मात्र गरेको हो,’ बालेनको भनाइ उद्धृत गर्दै महतोले भने, ‘हाम्रो पार्टी संघीयताविरोधी होइन । बलगर संघीयता बनाइन्छ ।’
बालेनले आफ्नो कारणले संघीयतामा कुनै खतरा हुन्छ भन्नेमा नसोच्न भनेका थिए । बैठकमा प्रधानमन्त्रीले अहिले भएका सबै सम्झौता पालना गर्ने र अब यस्ता घटना हुन नदिन ख्याल गर्ने प्रतिबद्धता जनाएका थिए । महतोले भने, संघीयतामा प्राप्त अधिकार प्रयोग गर्नुपर्छ । मेयर हुँदा मैले पनि आफ्नो अधिकार प्रयोग गरेको थिएँ । तपाईंहरू ढुक्क हुनुस् संघीयतामाथि कुनै खतरा हुँदैन ।’

जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार बैठकमा सहभाग्ी नेताहरूले प्रधानमन्त्रीलाई प्रदेशको विषयमा ध्यानकर्षण गराइएको छ । ‘हामीले सरकारलाई असफल बनाउन खोजेका छैनौं । सरकार दुर्घटनामा नजाओस् भन्ने हो । तपाईंले संघीयता बलियो बनाउनुपर्छ भन्यौं,’ बैठकपछि सञ्चारकर्मीसँग राउतले भने, ‘प्रदेशको प्रहरी भएको भए यस्तो हुने थिएन त्यहाँको भाषा पनि बुझ्थे ।’
मुस्लिम आयोगका संस्थापक अध्यक्ष समिर मियाँ अन्सारीले व्यक्तिगत झगडा साम्प्रदायिक तहसम्म पुग्नु मुलुकका लागि घातक भएको उल्लेख गरे । उनले भने, “यस विषयमा प्रधानमन्त्रीज्यूसँग घनिभूत छलफल भयो, घटनाका दोषीलाई कारबाही गर्न र अवस्था सामान्य पार्नका लागि हामीले केही सुझाव दिएका छौँ ।”
छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायतका नेता सहभागी थिए ।





