काठमाडौँ। चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्नुपर्ने नियम कार्यान्वयनमा कडाइ गर्ने भएको छ।
यात्रुको सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नियम कार्यान्वयन गराउन जाँच र अनुगमनलाई तीव्रता दिइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार चाडपर्वका बेला यात्रुको चाप बढ्ने र रातिको समयमा लामो दूरीका बस सञ्चालन हुने भएकाले चालकको थकानबाट हुनसक्ने दुर्घटना रोक्न दुई चालकको व्यवस्था प्रभावकारी बनाउन लागिएको हो।
लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक भए–नभएको नियमित जाँच गरिने र एक जना मात्रै चालक राखेर सवारी चलाएको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले रात्रिकालीन लामो दूरीका सवारीसाधनमा दुई चालक राख्नुपर्ने नियमलाई थप कडाइका साथ लागू गरिने बताए। उनका अनुसार दुई चालक हुँदा पालैपालो सवारी चलाउन सकिने र लामो यात्रामा चालकको थकान व्यवस्थापन गर्न सहयोग पुग्छ।
यसैगरी लामो दूरीका सवारीसाधनका चालकले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरे–नगरेको समेत कडाइका साथ जाँच गरिने भएको छ। सवारी सञ्चालनअघि तथा यात्राका क्रममा चालकको अवस्था जाँच गरी सम्भावित जोखिम नियन्त्रण गरिने प्रहरीले जनाएको छ।
चाडपर्वका बेला यात्रुको चाप र सार्वजनिक सवारीसाधनको आवागमन बढ्ने भएकाले ट्राफिक प्रहरीले सवारीसाधनको अवस्था, चालकको योग्यता र नियम पालना भए–नभएको विषयमा समेत निगरानी बढाउनेछ।
मुख्य सडक, बढी सवारी चाप हुने क्षेत्र तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने स्थानमा दिवा तथा रात्रिकालीन समयमा थप प्रहरी परिचालन गरी नियमित जाँच गरिने कार्यालयले जनाएको छ।
यात्रुबाट निर्धारितभन्दा बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा हुने गतिविधि रोक्न पनि निगरानी गरिने भएको छ। आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गरी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले चालकलाई ट्राफिक नियम पालना गर्न र यात्रुलाई पनि सुरक्षित यात्राका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।








