काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ। घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजार ५७८ जनाले उपत्यका छाडेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत यात्रु बाहिरिएका हुन्। दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा व्यवसायका लागि उपत्यकामा बस्दै आएका नागरिक घर फर्किन थालेका छन्।

ADVERTISEMENT

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार बाहिरिने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन्। घर फर्किने क्रम बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चापसमेत बढेको छ।

ADVERTISEMENT

ट्राफिक प्रहरीका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यात्रुको चापलाई ध्यानमा राख्दै प्रहरीले सवारी आवागमन व्यवस्थापन तथा निगरानी बढाएको छ।

दसैँ र तिहारजस्ता चाडपर्वमा यात्रुको सुरक्षा सुनिश्चित गर्न तथा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको काफ्लेले बताए।

ADVERTISEMENT

लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र निरन्तर सवारी चलाउने समयबारे ध्यान दिनुपर्ने प्रहरीले जनाएको छ। यात्रु र चालक दुवैले सावधानी अपनाए सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने प्रहरीको भनाइ छ।

दसैँ मनाउन देशका विभिन्न भागमा रहेका नागरिक घर फर्किन थालेपछि काठमाडौँ उपत्यकाका सडक, बसपार्क र बाहिरी नाकामा चहलपहल बढेको छ।